प्युठान, उत्थानशील समुदाय विकासको लागि जीविकोपार्जन तथा शिक्षा सबलीकरण कार्यक्रम (BELIEF) को ऐरावती गाउँपालिका स्तरीय शुरूवाती बैठक सम्पन्न भएको छ । स्ट्रोम फाउण्डेसन र कालिका विकास केन्द्र नेपालको साझेदारीमा र ऐरावती गाउँपालिकाको समन्वयमा सन् २०२४ अप्रिल १ देखि सन् २०२८ डिसेम्बरसम्म संचालन हुने उक्त कार्यक्रममा पालिकाका वडा नं २,४,५ र ६ का १४ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । 
स्थानीय स्तरमा सामाजिक परिचालन, क्षमता बिकास, राज्यका नीति नियम तथा सेवाबारे समुदाय तथा स्थानीय सरोकारवालाहरुलाई सचेतना तथा सहजीकरण, शिक्षा र जीविकोपार्जन तर्फ ५ बर्षे रणनीति योजना निर्माण प्रक्रियामा दिगो तथा प्रभावकारी बनाउन सहजीकरण लगायतका नीतिगत वकालत र सहयोग, स्थानीय तहमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा, सामुदायिक संरचना सवलीकरण,समावेशी गुणस्तरीय शिक्षा, जीविकोपार्जन, रोजगारी सिर्जना र गरिबी अन्त्य गर्नका लागि विलिफ कार्यक्रम संचालन गर्न लागेको संस्थाका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद राज भण्डारीले बताउनुभयो । 
२०८१ बैशाख १७ गते गाउँपालिकाको सभा हलमा संचालन भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गाउँपालिका का उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले समुदायको माग र आवश्यकता अनुसार परियोजना सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सफलताको शुभकामना दिदै परियोजना प्रति गाउँपालिका सकारात्मक रहेको बताउनुभयो । संस्थाका अध्यक्ष सनत श्रेष्ठले मन्तव्य राख्दै गाउँपालिकाले विगतमा सञ्चालन भएको परियोजना कार्यनयनमा धेरै सहयोग गरिएको स्मरण गर्दै यस परियोजना कार्यनयनमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो । 
कालिका विकास केन्द्र नेपालका कार्यक्रम संयोजक पदम विष्टले ५ वर्षसम्म सञ्चालन हुने कार्यक्रमले १४ सय लक्षित घरधुरीहरू गरिबीमुक्त र मर्यादित जीवनका लागि सक्षम गराउने कार्यक्रमको लक्ष्य रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा,वडा अध्यक्षहरू, सदस्यहरू, प्रवक्ता,संस्थाका कार्यसमिति सदस्यहरू, परियोजना अधिकृत विवेक न्यौपाने र विषयगत शाखाका कर्मचारीहरू लगायतको सहभागी रहेको उक्त कार्यक्रम सामाजिक परिचालक मञ्जु शाहीले सञ्चालन गर्नु भएको थियो ।








