प्युठानमा भैंसीको बच्चामा जन्मजात विकृति, चिकित्सक टोलीद्वारा सफलतापूर्वक ‘फिटोटोमी’
प्युठानको ऐरावती गाउँपालिका वडा नं ५ गोठीबाङमा स्थानीय किसान निर्मल नेपालीको भैंसीले जन्माएको बच्चामा दुर्लभ प्रकारको जन्मजात विकृति (Congenital defect) देखिएपछि पशु चिकित्सकहरूको टोलीले सफलतापूर्वक ‘फिटोटोमी’ (Foetotomy – मृत बच्चालाई काटेर बाहिर निकाल्ने प्रक्रिया) सम्पन्न गरेका छन ।
उक्त भैंसीको बच्चामा ‘जोडिएका जुम्ल्याहा’ (Conjoined twinning) अवस्थामा जन्म भएकाले सामान्य प्रसव सम्भव नभई बच्चाको मृत्यु भएको थियो ।
मृत बच्चालाई सुरक्षित तरिकाले बाहिर निकाल्नका लागि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय खलंगामा कार्यरत डा. राम भरोश यादव,पशु प्राविधिक नरेश पाठक,पशु प्राविधिक बबिन थापा र किसान निर्मल नेपालीको संयुक्त प्रयासमा उक्त ‘फिटोटोमी’ सम्पन्न भएको डाक्टर राम भरोश यादवले बताउनुभयो ।
स्थानीय किसान निर्मल नेपालीको भैंसीमा भएको यो घटना दुर्लभ भएपनि चिकित्सकको सहयोगमा भैंसी सकुशल रहेको किसान निर्मल नेपालीले जानकारी दिनुभयो ।