लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलेब्रेशन टुर’ विभिन्न जिल्लामा पुस ५ गतेदेखि १६ गतेसम्म
नेपाल प्रिमियर लिग (NPL) को उपाधि जितेपछि लुम्बिनी लायन्सले समर्थकसँग खुसी साट्न पश्चिम तथा मध्य नेपालका विभिन्न जिल्लामा ट्रफी टुर गर्ने घोषणा गरेको हो। “We believed, We did it!” भन्ने नारासहित आयोजना हुने यो टुर पौष ५ गते बर्दियाबाट सुरु भई पौष १६ गते बुटवलमा भव्य समापन हुनेछ।
ट्रफी टुरको क्रममा टोली बर्दिया, दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी र रुपन्देही जिल्लाका विभिन्न स्थानमा पुग्नेछ। प्रत्येक स्थानमा खेलाडी, ट्रफी र समर्थकबीच प्रत्यक्ष भेटघाट तथा उत्सव कार्यक्रम आयोजना गरिनेछ।
यस टुरको मुख्य आकर्षण पौष १६ गते (डिसेम्बर ३१, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या) मा बुटवलको सिद्धबाबा मन्दिर–ट्राफिक चोकमा हुने ग्रान्ड सेलिब्रेसन हो, जहाँ मेगा कन्सर्ट समेत आयोजना गरिने जनाइएको छ।
लुम्बिनी लायन्सले यो ट्रफी टुरमार्फत समर्थकप्रति आभार प्रकट गर्दै ऐतिहासिक जितको उत्सव सामूहिक रूपमा मनाउने उद्देश्य लिएको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी ले बताउनुभयो ।








