प्युठान, ऐरावती गाउँपालिकामा दादुरा रूवेला खोप अभियान सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न गरिएको छ । ऐरावती गाउँपालिकाको बैठक हलमा गाउँपालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो । ऐरावती गाउँपालिका का ६ वटा वडाका ३२ खोप केन्द्रबाट २ हजार ५७ जना बालबालिकाले खोप पाउने बताइएको छ ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहको अध्यक्षतामा आयोजित गोष्ठीमा राष्ट्रिय खोप कार्यक्रमको उद्वेश्य,उपलब्धि र चुनौतीबारे स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिनुभएको थियोे ।

दादुरा रूवेला खोपको कभरेज, महामारीको अवस्था, नियन्त्रणका उपाय र खोप अभियानबारे कार्यक्रममा अभिमुखिकरण गरिएको थियो । प्युठानसहित ५१ जिल्लामा पाँच वर्षमुनिका बालबालिकालाई र बढी जोखिम भएका बाकी २६ जिल्लामा १५ वर्षमुनिका बालबालिकालाई दादुरा रूवेला विरूद्वको खोप लगाइदै छ । ऐरावती गाउँपालिकामा फागुन १४ गतेदेखि १८ गतेसम्म दादुरा रूवेला विरूद्वको खोप अभियान सञ्चालन हुने भएकोले पाँच वर्षमुनिका बालबालिकालाई नजिकैको खोप केन्द्रमा खोप सञ्चालन हुने दिन अनिवार्य खोप लगाउन अनुरोध गरिएको छ ।

फागुन १३ गते आज सम्पन्न अभिमुखिकरण गोष्ठीमा ६ वटै वडाका वडा अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ शाखा प्रमुख,उप-प्रमुख,कार्यपालिका सदस्य,स्वास्थ्यकर्मी,पत्रकार,शिक्षक लगायतको सहभागीता रहेको थियो । दादुरा रूवेला रोग १ जनाबाट १८ जनालाई संक्रमण गर्न सक्ने भएकोले महामारीबाट बच्न अनिवार्य खोप लगाउन अनुरोध गरिएको छ ।

हालसम्म ७२ जिल्लाका ७३३ स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् । खोप नि:शुल्क पाइन्छ, खोप सुरक्षित छ र खोपले जीवन रक्षा गर्छ, त्यसैले अनिवार्य खोप लगाउन अनुरोध गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।