प्युठान,ऐरावती गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोग र मल्लारानी ग्रामीण विकास सरोकार केन्द्रको सहजीकरणमा संचालित ऐरावती कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना अन्तर्गत गठन भएका समुहहरुलाई संस्थागत गर्ने र समूह अन्तर्गतका किसानले गरेका उत्पादनलाई बजारीकरण गर्ने उदेश्यले ऐरावती सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को स्थापना गरिएको छ । पालिकालाई कृषि र पशु उत्पादनमा आत्मनिर्भर बनाउदै सहकारीले बजारीकरणका लागि सहजीकरण गर्ने बताइएको छ ।
अहिले ९० जना महिलाहरु शेयर सदस्य रहेका छन् । परियोजनामा आबद्ध भएका १३०० महिलाहरु र १५० जना युवाहरुलाई पहिलो चरणमा शेयर सदस्य बनाउने र परियोजना अवधिभर अन्य १८०० महिलाहरुलाई शेयर सदस्य थप गरि ३२५० जना शेयर सदस्य बनाउने बताइएको छ । १ जना सदस्यले कम्तिमा १० कित्ता शेयर किन्नुपर्ने छ ।
सहकारीको अध्यक्षमा शित्तल थापा, सचिवमा सम्झना शाही र कोषाध्यक्षमा सम्झना शाह रहेको ९ जनाको तदर्थ संचालक समिति गठन गरिएको छ । सहकारीले उत्पादनमुलक क्षेत्रमा ऋण लगानी, किसानहरुको उत्पादनको सामुहिक बजारीकरण, प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त गर्न सकिने उत्पादनमा आधारित अनुदानका लागि सहजीकरण ,किसानहरुलाई प्राबिधिक सेवा तथा किसानहरुको उत्पादनको प्रशोधन लगायतका कामहरू गर्ने परियोजनाका संयोजक हिमाल खड्काले जानकारी दिनुभयो ।