काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अति ठूलाे वर्षाको चेतावनी दिएको छ । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ‘रेड अलर्ट’ मा राखेको छ ।
कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा ठूलाेदेखि अति ठूलाे वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बाग्मती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भने अति ठूलो तहको वर्षाको सम्भावना छ ।
‘रेड अलर्ट’ जारी भएका जिल्लाहरू झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् । यस्तै, सिरहा, सप्तरी, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डाै, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप रहेका छन् ।
यसैगरी म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाम रहेका छन् ।
बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेषगरी भोलि दिउँसोपछि ठूलो वर्षाको सम्भावना छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यस वर्ष अक्टोबर ७ अर्थात् असोज २१ गतेसम्म रहने अनुमान रहेको मौसमविद्ले बताएका छन ।