राजनिति समाजसेवा कि पेसा ??

समाज सेवा एउटा बृहत् सामाजिक कार्यक्रम हो जसले कुनै सङ्गठन, समुदाय वा समाजलाई बलियो बनाउने, समानता र अवसर प्रदान गर्ने कार्य गर्दछ । समाज सेवाका क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, स्वरोजगार, सरसफाई, विकास निर्माण तथा सम्पूर्ण समुदायको व्यवस्थापनका लागि नीति निर्माणमा समेत प्रभाव पार्ने कार्य पर्दछन् । समाज सेवा कल्याणकारी व्यवस्था अन्तर्गतको महत्त्वपूर्ण क्षेत्र हो जसमा सामुहिक वा व्यक्तिगत तबरले गरिब, विपन्न, दलित तथा उपेक्षित वर्ग वा समूहहरूको उत्थान र विकासमा टेवा पुर्‍याउने काम गर्दछ । हाम्रो देशमा सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी सयौ संघ संस्थाहरू समाज सेवा गर्ने मूलभूत उद्देश्य बोकेर देशैभरी क्रियाशील छन् । कुनै संस्था विपदमा सक्रिय छन्, कुनै गरिबी निवारणमा छन् भने, चेलीबेटी, महिला, दलित तथा अपाङ्ग समज परिबर्तन सेवामा खटिएका छन् । सामान्य मानिसले त्यस्ता संघ संस्थाहरूमा काम गर्ने व्यक्तिलाई ठूला दाताका रूपमा, प्रोजेक्ट चलाउने तथा सरकारको स्वीकृति लिएर देशका विभिन्न जिल्लाहरूमा कार्यक्रम सञ्चालन गर्ने समूह भन्ने बुझ्दछन् । त्यस्ता सरकारी तथा गैर सरकारी संस्थाहरूको नेतृत्व मूलतः विद्वान्, बुद्धिजीवी, पढेलेखेका, अनुभवी, सकेसम्म विद्यावारिधि प्राप्त व्यक्तिले गरेका पाइन्छन् । अनि कतिपय राजनैतिक पृष्ठभूमिबाट आएका विभिन्न अन्तर्निहित स्वार्थ बोकेका, विदेशी गैर संस्थाहरूले चयन गर्ने पदाधिकारी समेत पर्दछ ।

राजनीति शब्दको परिभाषा सामान्य लागे पनि जटिल प्रकृतिको छ राजनीतिलाई कुनै एक वर्गको संगठित शक्ति मानेर अर्काे वर्गलाई दबाउने माध्यमको रूपमा पनि मानिएको छ । राजनीति मूलतः अर्थव्यवस्था नै हो भनेर माकर्सवादले भनेका पनि थिय वर्गलाई राजनीतिको केन्द्र मानियको छ । त्यसैले राजनीति शब्दले व्यापक अर्थ समेट्ने हुँदा यसलाई प्रष्ट्याउन खोज्नु मूर्खता मात्र हो । राजनीति समाजको रुपान्तरण गर्ने को लागि गरिन्छ तर हाम्रो प्रबृति भने यो भनाइ भन्दा ठिक बिपरित छ | हो तापनि राजनीतिलाई जागिर वा धन आर्जन गर्ने व्यवसायको रूपमा मानियो भने समाजको प्रगति र उन्नति हुदैन । आजभन्दा ३०।४० वर्ष अगाडिबाट राजनीति गर्दै आएका विभिन्न पार्टीका नेता तथा संघ सङ्गठनमा नेतृत्व गर्ने व्यक्तिहरू साँच्चीकै राजनीति गर्थे । उनीहरूमा धन आर्जनको कुनै मोह थिएन । एक जोर कपडाले एक वर्ष पुर्‍याउँथे । जनताका सबै घरहरू उनलाई खुला थियो । आफ्नो जेथा र सम्पत्ति सकेर पनि समाज रुपान्तरणको लागि एक छाक खाएर रातदिन खटिई रहन्थे । पढाइमा पनि उत्कृष्ट थिए । बोली चालि सभ्य र शिष्ठ थियो । कुनै कुराको लोभ र मोह थिएन । साँच्चै आदर्शवादी राजनेता थिए । उनीहरूलाई प्रशिक्षित गर्ने अगुवा नेताहरू प्रेरणा र अनुसरण गर्न योग्य थिए । उनैको विरासतले आजसम्म जेनतेन राजनीति धानिएको छ । तर विडम्बना आज गरिने राजनीति सेवा नगरी मेवा, काम नगरी दाम, प्रतिष्ठा र नाम कमाउने सहज बाटो बनाउन चाहने व्यक्ति विशेषको रुचिको केन्द्र बन्न थालेको अनुभव सर्वत्र गरिएको छ । सहयोगी मनले त एक हातले दिँदा अर्को हातलाई पनि थाहा नहोस् भन्ने हुन्छ । तर, कसैलाई हामीले सहयोग गर्यौ भनेर आफ्नो महानता र दयालुपनको प्रचार गर्दै देखावटी आवरणमा बाचिरहेका छौँ, खोक्रो नाटक मञ्चन गरिरहेका हुन्छौँ । अनि यस्तो कार्यलाई स्वार्थी राजनिति न भनेर के भन्ने ? स्वार्थ अनेक किसिमका हुन्छन् । राष्ट्रिय स्वार्थ, समाजिक स्वार्थ, सामुहिक स्वार्थ र व्यक्तिगत स्वार्थ राजनितिक स्वाथ । आत्मालाई साक्षी राखी तन, मन, धन र समय खर्चेर कार्य गर्नु कुनै पनि मानिसको पहिलो कर्तव्य, दायित्व र धर्म हो । ज्ञान र विवकहीन मानिस स्वार्थी हुन्छ त्यस कारण अहिले राजनिति पेशा भयको छ | पछिल्लो समय नेपालको राजनीतिलाई नेपालका राजनीतिकर्मीले सेवा भन्दा पनि पेशामा रुपान्तरण गर्दै लगेको देखिन्छ । निर्वाचित पदलाई आर्थिक पक्षको सुधारको रुपमा प्रयोग गर्ने, आफ्नो स्वार्थका लागि विवादित निर्णय गर्न पनि पछि नपर्ने, कानुनले निर्देशीत गरेको भन्दा माथि उठेर काम गर्ने, ठेक्का पट्टाको कार्य गर्ने, डन गुण्डा, आसेपासे, चम्चे, धुपौरे जस्ता समूहको हितमा कार्य गर्ने, आर्थिक र वित्तीय अनुसाशन भन्दा माथि उठेर खर्च गर्ने, अपादर्शी र कानुन विपरीत आर्थिक बाँडफाँड गर्ने, अत्याधिक बेरुजु आउने गरि आर्थिक चलखेल गर्ने, रोजगारीको रुपमा पदलाई प्रयोग गर्ने, ठूलो रकम तलब भत्ताका रुपमा लिने, सोहि अनुसार आफु अनुकुलको नीति नियम बनाउने, आफै बोक्सी आफै धामीको व्यवहार प्रर्दशन गर्ने जनतालाई सुविधा भन्दा पनि नयाँ–नयाँ कर कहाँ लगाउन सकिन्छ खोजिमा दिन विताउने, आर्थिक मितव्ययिताको कुनै ख्याल नगर्ने जस्ता विविध कारणले राजनीतिक नेतृत्वले राजनीतिलाई सेवा भन्दा पनि पेशामा रुपान्तरण गर्न खोजेको देखिन्छ । राजनीति राज्य सञ्चालनको मुख्य नीति हो । राजनीतिलाई पेशा नबनाऔं, सत्तामा जाने, अकुत सम्पत्ति कमाउने साधनको रुपमा प्रयोग नगरौं । देश र जनताको हितमा काम गरौं । आफ्नो स्वार्थ पुरा गर्दै गर्दा देशलाई विश्वकै गरिब देश र जनतालाई दुखी जनता रहेको देश बनाउने खेल नखेलौ ।