सन्तोष सुनार प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठान लुम्विनी प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा छनौट भएको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) ले आज शुक्रबार आफ्नो ३७औ स्थापना दिवसको कार्यक्रमको अवसरमा बिजय फूलबारीलाई लुम्विनी प्रदेशको उत्कृष्ट संस्था घोषणा गरेको व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए ।

वि.स. २०५५सालमा खैरामा स्थापना भई सुरुवात भएको फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. र २०६३ सालमा बिजयनगरमा स्थापना भई सञ्चालनमा रहेको बिजयलक्ष्मी महिला बहुउद्धेश्यीय सहकारी संस्था लि. २०७९ साल जेठ महिनामा एकीकरण भई विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था बनेको हो ।

संस्थाले नीति ,विधि र प्रविधिलाई आत्मसात् गर्दै सुशासनका सिद्धान्तलाई अक्षरअंश पालना गरी सदस्य सेवालाई प्रमुख प्राथमिकताका साथ अघी बढाएको र कर्मचारीहरुको लगनशिलता , समितिको टिमवर्क तथा सदस्यहरुको साथ र भरोसाले संस्था निरन्तर प्रगतिको पाइलामा अघी बढेको संस्थाका अध्यक्ष नेत्रमणी आचार्यले बताए ।

५ हजार ६ सय सदस्य आवद्ध रहेको संस्थाले सदस्यहरुका लागि विभिन्न प्रकारका ऋण ,बचत ,मृत्यू राहत कोष,सुत्केरी भेटघाट,सदस्य बीमा,उपचार सहुलियत,रेमिटान्स जस्ता सदस्य सेवाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।उत्कृष्ट घोषणा भएका सहकारी संस्थालाई आगामी पौषमा हुने नेफ्स्कुनको साधारण सभामा पुरस्कृत गरिने जनाइएको छ ।