दाङ। दाङको देउखुरीमा आइतबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमका अनुसार मृत्यु हुनेमा प्युठान ऐरावती गाउँपालिका–५ झिवाङ्ग जाडीका १९ वर्षीय सुशील थापा रहेका छन्। मोटरसाइकलमा सवार उनी उपचारका क्रममा भालुवाङ अस्पतालमा मृत घोषित भएका हुन्।
सोही मोटरसाइकलका चालक २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले जानकारी दिए।घटना गढवा गाउँपालिका–१ धोद्रे पुल नजिक बिहान करिब ६ बजे भएको हो। चन्द्रौटा हुँदै पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानतर्फबाट चन्द्रौटा आउँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।
मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ। घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।