प्युठान, २०८२ भदौ २३/२४ गते भएको जेन्जी आन्दोलनपछि देशको राजनीतिले नयाँ मोड लियो । आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै प्रतिनिधि सभाको विघटन गर्नुभएको थियो। साथै २०८२ फाल्गुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भैसकेको छ।निर्वाचन नजिकिए सँगै राजनीतिक दलहरू दल दर्ता तथा उम्मेदवार छनोटको आन्तरिक तयारीमा जुटेका छन्। यसै सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी प्युठानले ऐरावती गाउँपालिका वडा नं. ४ तिल्केनी निवासी २६ वर्षीय जेन-जी युवा प्रेमबहादुर विश्वकर्मा सहित ७ जना लिलामणि पोख्रेल, कृष्णध्वज खड्का, अर्जुन कुमार कक्षपती, भोजविक्रम बुढामगर, मिलन एमसी, उमाराम पौडेल लाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको पार्टीका जिल्ला संयोजक प्रभात केसीले दिनुभयो।प्रेमबहादुर विश्वकर्मा दिवंगत जनयुद्धका योद्धा ओमबहादुर विश्वकर्माका जेठा छोरा हुन्। उनका बुवा ओमबहादुर विश्वकर्मा २०५५/५६ सालदेखि जनयुद्धमा होमिनु भएको थियो। निरन्तर पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा समर्पित भए पनि जनयुद्धको जगमा गणतन्त्र स्थापनापछि देशको राजनीतिक परिवेश फेरियो तर उहाँ पुनः आफ्नै पुरानो ज्यालामजदुरीको पेशामा फर्किनु परेको थियो।
राजनीतिमा नयाँ पुस्ता: २६ वर्षीय प्रेमबहादुर प्युठानबाट प्रतिनिधि सभातर्फ सिफारिस
उनलाई नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो

पाँच सन्तान, श्रीमती र आफू गरी सात सदस्यीय परिवारको पालनपोषण गर्न संघर्ष गरिरहेका ओमबहादुर विश्वकर्माको २०६८ साल पौष २८ गते कामकै सिलसिलामा छिमेकी गाउँ जाँदै गर्दा बाटोमा दुर्घटनामा परी दुःखद निधन भयो। बुवाको निधनले पहिले नै अभावमा गुज्रिरहेको परिवारमाथि ठूलो बज्रपात पर्यो। रासन, अन्नको अभावमा परिवारले कैयौं रात भोकै बिताउनुपर्ने अवस्था आयो।पारिवारिक अवस्था अत्यन्तै कठिन बनेपछि प्रेमबहादुर १२ वर्षकै उमेरमा रोजगारीको खोजीमा भारत जान बाध्य भए। पढाइमा सधैं अब्बल रहेका उनी पढ्न चाहँदाचाहँदै पनि भारत जानुपरेको पीडा सुनाउँछन्। झन्डै एक वर्ष भारत बसेपछि आमा उमा विश्वकर्मा वैदेशिक रोजगारीका लागि कुवेत जानु भयो। आमा विदेश गएपछि प्रेमबहादुर नेपाल फर्किएर पुनः अध्ययन सुरु गरे।अटुट मेहनत र लगनशीलताका कारण उनले निरन्तर प्रथम श्रेणीमा सफलता हासिल गर्दै आए। उनलेे स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्नातक तहमा क्याम्पस टप गर्दै छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत छन्।
शिक्षा, राजनीति र समाजसेवालाई समानान्तर रूपमा अघि बढाउँदै आएका विश्वकर्मा २०७३ साल चैत्र १८ गते जिल्ला बाल सञ्जाल प्युठानको अध्यक्ष बने । अध्यक्षको जिम्मेवारीमा रहँदा जिल्लामा बालविवाह अन्त्य, बालश्रम न्यूनीकरण तथा बालअधिकार संरक्षणका क्षेत्रमा उनी उल्लेखनीय रूपमा सक्रिय थिए।त्यसैगरी, उनी एक वर्षभन्दा बढी समय तत्कालीन माओवादी निकट अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्षका रूपमा जिल्लाको विद्यार्थी आन्दोलनको नेतृत्व गरे हाल उनी अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य पदमा कार्यरत छन्।बुवाको बलिदान, आमाको अथक संघर्ष र आफ्नै कठिन जीवन यात्राबाट खारिएको संघर्षशील पृष्ठभूमि बोकेका प्रेमबहादुर विश्वकर्माको प्रतिनिधि सभा उम्मेदवार सिफारिसलाई स्थानीयस्तरमा आशाका रूपमा हेरिएको छ ।







