काठमाडौँ, २२ असार । हालै सार्वजनिक भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशभर असार २२ गतेसम्म कुल धान रोपाइँको प्रगति ४१.९ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा यो संख्या ४३.५ प्रतिशत थियो । यस वर्षको रोपाइँ गति गत वर्षभन्दा केही सुस्त देखिएको छ ।मन्त्रालयका अनुसार यो वर्ष कुल १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ । त्यसमध्ये हालसम्म ५ लाख ८० हजार ८८६ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।प्रदेशगत विवरण हेर्दा, सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको देखिन्छ । यहाँ ८२.८ प्रतिशत ९१ लाख ४५ हजार ९३२ हेक्टर० क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । त्यसपछिल्लो स्थानमा कर्णाली प्रदेश छ, जहाँ ७१.७ प्रतिशत रोपाइँ भएको छ ।
यता गण्डकी (५५.६५), लुम्बिनी (५२.१५) र बागमती प्रदेश (५१.९५) मा पनि रोपाइँको गति आधाभन्दा माथि पुगेको छ ।तर, कोशी र मधेस प्रदेशमा रोपाइँको गति सुस्त देखिएको छ । कोशीमा अहिलेसम्म २९.५ प्रतिशत (८१ हजार ६३५ हेक्टर) मात्रै रोपिएको छ भने मधेस प्रदेशमा झनै कम, मात्र १३.६ प्रतिशत (५१ हजार २५० हेक्टर) मा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
वर्षा र सिंचाइ प्रणाली असरदार नहुँदा असर
विशेषगरी मधेस र कोशी प्रदेशमा समयमै पर्याप्त वर्षा नहुनु, जमिन तयारी ढिलो हुनु, र सिंचाइ सुविधा प्रभावकारी नहुनुले रोपाइँ ढिलाइ भएको कृषि विज्ञहरू बताउँछन् । अर्कोतर्फ, सुदूरपश्चिम र कर्णाली प्रदेशमा चाँडै वर्षा सुरु भएको र परम्परागत ढंगबाट किसान सक्रिय भएका कारण रोपाइँ तीव्र भएको हो ।मन्त्रालयले मौसम अनुकूल रहे आगामी दुई साताभित्र अधिकांश क्षेत्रको रोपाइँ सम्पन्न हुने अनुमान गरेको छ । साथै, बीउ, मल तथा प्राविधिक सहयोग सुलभ गराउने तयारी जारी राखिएको जनाएको छ ।








