प्युठान, ऐरावती गाउँपालिका वडा नं ५ सिँदुरेडाँडामा बसोबास गर्ने गन्धर्व समुदायका महिलाहरूलाई १० दिने सारङ्गी बजाउने तालिम उद्घाटन भएको छ ।

सामाजिक विकास डिभिजन कार्यलय प्युठानको आयोजनामा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा सामाजिक विकास डिभिजन कार्यलयका प्रमुख पुन्य न्यौपानेको अध्यक्षतामा जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख ईश्वर थापाको प्रमुख आतिथ्यता वडा नं ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोका मगरको बिशेष आतिथ्ता र संगीतकर्मी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र सुनार ,नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका पदाधिकारी,स्थानीय बुद्धिजीवी,पत्रकार,आमा समुहका सदस्यहरू लगायतको उपस्थितिमा सोमबार तालिम उद्घाटन भएको छ ।

गन्धर्व समाज प्युठानका अध्यक्ष धुर्व गन्धर्वले स्वागत मन्तव्य राख्दै सामाजिक विकास डिभिजन कार्यलयलाई धन्यवाद दिनुभएको छ । कार्यक्रममा बोल्दै डिभिजन कार्यलयका प्रमुख न्यौपानेले यो तालिमले कार्यलयले अपेक्षा गरेअनुरूप को उपलब्धि हासिल भएमा, सरङ्गी बजाउने, बनाउने र बजारीकरणमा टेवा पुग्ने खालका तालिम सञ्चालन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वडा अध्यक्ष र‍ोकाले गन्धर्व समुदायको स्थायित्व कायम राख्न गाउँपालिकाले हरेक वर्ष गन्धर्व समाजलाई परिचालन गरि बालविवाह,आगलागी, जस्ता सामाजिक अपराध न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रम गरिरहेको बताउनुभयो ।

 

संगीतकर्मी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र सुनारले यो तालिमले यहाँका गन्धर्वहरू महिलाहरू गाउँ भित्र मात्र नभई देशभरि परिचित हुनुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रम सञ्चालन गन्धर्व समाजका सचिव अर्जुन गन्धर्वले गर्नुभएको हो ।