विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठीकाठमाडौं ।
नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा छलफल र अन्तरक्रिया भयो ।
प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुभएको सो कार्यक्रममा उपकुलपति एवम् बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बालसाहित्य बालबालिकाका लागि बीजतत्त्व भएको बताउँदै बालबालिकालाई अघि नबढाएसम्म कुनै पनि क्षेत्रमा अघि बढ्न नसकिने धारणा राख्नुभयो । उहाँले विद्यार्थीका लागि अत्यन्त महत्त्वपूर्ण हुने पाठ्यपुस्तकको लेखन र सम्पादन उत्तिकै गम्भीर र विचार पुर्याएर गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
पाठ्यपुस्तकले बालबालिकाको व्यक्तित्व विकास र आत्मबल बढाउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकाका उपयुक्त रचना पाठ्यपुस्तकमा राख्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न पनि राख्नुभयो । अर्का टिप्पणीकार नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य डा. कौशिला रिसालले बालबालिकाका पाठ्यपुस्तक कसले लेख्ने भन्ने निश्चित मापदण्डको आवश्यकता औंल्याउँदै पछिल्लो समयमा रचनाको गुणस्तरभन्दा आफ्ना नजिकका लेखकका रचना पाठ्यपुस्तकमा राख्ने गरिएको र कक्षाअनुसारको पाठ्यसामग्री नहुने गरेको भनाइ राख्नुभयो ।
गोष्ठीमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरि, बालसाहित्यकारहरू भाग्यशाली अधिकारी, छायादत्त न्यौपाने, विजयराज न्यौपाने, यम बाँस्तोला र नारायण तिवारी तथा पुस्तकालयविज्ञ इन्दिरा दलीले विभिन्न प्रश्न र विचार राख्नुभएको थियो । कार्यक्रममा प्राज्ञहरू, बालसाहित्यकारहरू, बालपाठ्यपुस्तकका लेखक एवम् सम्पादकहरूको पनि उपस्थिति थियो ।








