प्युठान, ऐरावतीमा न्यानो कपडा वितरण अभियान २०८१ सम्पन्न भएको छ ।

मंगलबार ऐरावती २ बरौंलामा रहेको मोती माध्यमिक विद्यालयमा अनुपराज पाण्डेको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा गाउँपालिका शिक्षा शाखा प्रमुख यम प्रसाद पाण्डे वडा नं २ का वडा अध्यक्ष भिमेश कुमार घर्ती मगर मोती माविका वि.व्य.स अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ ४१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि अभियान सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोग दाताहरूको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो ।

पुस ३ गतेदेखि सुरु गरिएको न्यानो कपडा वितरणका लागि आर्थिक संकलन गर्ने अभियान पुस २० गते स्थगित गरिएको हो । अभियानमा देश तथा विदेशमा रहनुभएका ८३ जना सहयोगी दाताको तर्फबाट १ लाख २० हजार ४ सय छब्बीस रूपैयाँ सहयोग रकम जम्मा भएको थियो ।

सोही रकमबाट ४१ वटा विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत २ सय ५५ जना आभिभावक बिहिन,अपाङ्ग र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई प्रति विद्यार्थी १ थान सुइटर १ थान टोपी र १ थान टाउजर वितरण गरिएको हो । उक्त कार्यक्रम सहयोगी दाता तिर्थराज पोख्रेलले सञ्चालन गर्नुभएको हो ।