प्युठान । ऐरावतीमा १ हजार ७ जना किशोरीलाई एच.पि.भी खोप लगाइँदै ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर यो अभियान सुरु हुँदै छ । ऐरावती गाउँपालिका का विद्यालयमा ६ कक्षा देखि १० कक्षा सम्म अध्ययनरत १ हजार १ जनालाई र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका ६ जनालाई खोप लगाइने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सबैभन्दा धेरै ऐरावती २ का ३१६ जना र सबैभन्दा कम ऐरावती ४ का १०१ जनालाई खोप लगाइने छ । ऐरावती गाउँपालिका भित्रका ७ वटा माविमा माघ २२ गते एकैपटक अभियान सुरु हुँदैछ ।

विद्यालयमा खोप लगाउन छुटेका किशोरीलाई ६ वटै वडाका स्वास्थ्य संस्थाबाट खोप लगाइँने  स्वास्थ्य शाखा उप प्रमुख सेर सिंह थापाले जानकारी दिए । सबै वडाका खोप समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला लाई खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भैसकेको छ ।

प्युठान जिल्लाका १३ हजार ७ सय ६३ जना किशोरीलाई खोप लगाइँदै छ । ९ वटै स्थानीय तहमा रहेका विद्यालय नजाने २ सय १७ र विद्यालय जाने १३ हजार ५ सय ४६ जनालाई जिल्लाका १५० विद्यालय र ६५ वटा खोप केन्द्रबाट खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।