गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौँ, १ चैत । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री अर्यालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सफलतापूर्वक सम्पन्न गर्न शान्ति सुरक्षा कायम, भ्रष्ट्राचार नियन्त्रण र सुशासनको मानक स्थापना गर्नमा खेलेको योगदानको कदर गर्दै सरकारले उहाँलाई सङ्घीय संसदको उपल्लो सदन राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो । पेशाले अधिवक्ता रहनुभएका गुल्मीका अर्याल जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारमा गृहमन्त्री हुनुहुन्छ । सरल जीवनशैली, शालिन व्यक्तित्व, निष्टा र इमान्दारीका पर्यावाची गृहमन्त्री अर्यालको शान्त कूटनीति र बलियो समन्वयकारी भूमिकाले मुलुकको शान्ति सुव्यवस्था मजबुद र प्रभावकारी भएको छ । सोही भूमिकाका कारण मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो ।

राष्ट्रिय सभा सदस्यमा सिफारिस भएपछि गृहमन्त्री अर्यालले आफूले पाएको जिम्मेवारी निश्पक्ष र स्वतन्त्र ढंगले निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो कामको मूल्यांकन गरेर जिम्मेवारी प्रदान गरेकामा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नुभयो ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुन्छ । यसरी रिक्त हुने पदमध्ये तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन् । मन्त्रिपरिषदबाट सिफारिस हुनुभएका अर्याल राष्ट्रपतिबाट मनोनीत भएपछि उहाँ आउँदो ६ वर्ष सांसद हुनुहुनेछ ।