आशिष आचार्य,नेपालका पहाडी भेगमा थुप्रै थुम्का छन्, जहाँको माटोले आफैंमा अनगिन्ती कथा बोकेको हुन्छ। यिनै थुम्कामध्ये एक हो – कुटी लेक यो थलो प्युठान जिल्लाको ऐरावती गाउँपालिका वार्ड नं १ को अमिली गाउँ को माथि र सिर्सेनी गाउँको परिवेशमा पर्छ । कुटी लेक समुन्द्र सतहबाट १८०० मिटरको उचाईमा अवस्थित छ । विशेषत कुटी लेख परिसरमा ढकमक्क फुलेका लालीगुराँसका बोटबाट निस्केको निश्चल आभास पाउन सकिन्छ । त्यति मात्र नभएर कुटि लेख परिसरमै विभिन्न आकाशमा उडिरहेका चराहरूको मधुर आवाज पछ्याउन सकिन्छ। कुटी लेखबाट नेपालका हाइजेस्ट पिकहरू जस्तै धौलागिरी, माछापुछ्रे ,अन्नपूर्ण लगायत चुरेन हिमालको सेतो अनुभूति आँखा अगाडिबाटै देख्न सकिन्छ।

यहाँबाट आफ्नो सुन्दरताले सबैको मन प्रफुल्ल पार्ने चुरेन हिमाल देख्न सकिन्छ । यो धौलागिरी पर्वतमालाको एक भाग हो। यसको उचाइ ७,३७१ मिटर (२४,१८३ फिट) छ।यहाँ बाट माछापुछ्रे हिमालको पनि अवलोकन गर्न सकिन्छ। जुन समुद्र सतहदेखि ६९९३ मिटर उचाइमा अवस्थित छ।यो एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तर मध्य नेपालमा अवस्थित छ। माछापुच्छ्रे हिमाल नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ। यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन्, त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । अहिले सम्म कसैले नचढेको हुनाले यस हिमाललाई ‘कुमारी हिमाल’को उपनामले पनि चिनिन्छ।

यही सुन्दर कुटी लेखबाट ८१६७ मिटरको उचाइमा अवस्थित धौलागिरी हिमालको पनि देख्न सकिन्छ।

विशेषत कुटी लेक परिसरमा लालीगुराँसको सुन्दरता लिँदै नेपालका हिमालय दृश्यहरू अवलोकन गर्न सकिन्छ। यहाँ धेरै पहिलादेखि नै अवशेषमा रहेको एउटा गुफा समेत अवलोकन गर्न सकिन्छ। यो गुफामा विशेषत गुरुङ समुदायको संस्कृति झल्किएको छ। यो गुफा निकै ठूलो र डरलाग्दो रहेको छ। कुटी लेख परिसरमा प्राचीनकालका ऋषिहरूको इनारको अवशेष पाइन्छ ।

प्राचीन मान्यताका अनुसार कुटीलेखमा पाण्डवहरू ऐरावती हुँदै स्वर्गद्वारी ध्यान गर्न जाने क्रममा यहाँका ऋषिहरूसँग तपस्या गरेको भन्ने मान्यता पनि रहेको छ। यहाँ धेरै पहिला प्राचीनकालको समयमा ऋषिहरूले तपस्या गर्ने र साधना गर्ने गरेको प्राचीन मान्यता रहेको छ। अहिलेको अवस्थामा कुटीलेखमा तिनै ऋषिहरूले प्रयोग गर्ने इनार तपस्या गरेको ठाउँ समेत अवलोकन गर्न सकिन्छ। विशेषत कुटी लेखबाट नेपालका हिमाल श्रृङ्खलाहरू लालीगुराँसको सुन्दरता नियाल्दै चिसो हावाको बेगमा आनन्द लिन सकिन्छ

त्यति मात्र नभएर यहाँ नजिकै रहेको गुरुङगाउँ सिर्सेनीको गुरुङ दाहसंस्कार परम्परा र संस्कृतिलाई निहाल्न सकिन्छ। यही कुटी लेखमै विभिन्न किसिमका आयुर्वेद जडीबुटीहरू तथा टिमुर समेत पाइन्छ ।कुटी लेख विशेषत चैत वैशाखको समयमा अझ सुन्दर र मनमोहक छ। अनि मनसुनको समयमा अझ सुन्दर छ।

कुटी लेखको कुटी लेखलाई पर्यटन प्रवर्द्धन गर्न सकेमा पाल्पा जिल्लाको श्रीनगर क्षेत्र जसरी विस्तार र आकर्षक बनाउन सकिन्छ।

अहिलेको समयमा तपाईँ प्युठान जिल्लाको चेरनेटा बजार बाट सहज रूपमै सिर्सेनी आउन सक्नुहुनेछ। सिर्सेनीमा तपाईँले गुरुङ संस्कृतिको अनुभव घाटुनाच लगायत अन्य संस्कारका साथ सिर्सेनी होम स्टे मा बास गरी ट्रेकिङ गर्न सकिन्छ। यस ठाउँमा अर्घाखाँची जिल्लाको अमराई बजारदेखि २६ किलोमिटर कच्ची सडक को यात्रा गरेपछि सहज रुपमा पनि पुग्न सक्नुहुनेछ। सिर्सेनी मा चिसो हिमालको हावा र कुहिरोले अझै सुन्दरता थपिदिएको छ।

यस ठाउँमा वैशाख पूर्णिमाको दिन गुरुङ संस्कृति झल्काउने घाटु नाच विशेष मेला समेत लाग्ने गर्दछ। जसमा गुरुङ संस्कृतिको प्रवर्धन गरिएको हुन्छ। यो मेला हेर्न प्युठान अर्घाखाँची देखि थुप्रै मानिसहरू आउने गर्दछन्।

सिर्सेनी देखि पाँच किलोमिटर पर मिनी इलाम भनेर चिनिने ठुलीलेख र नेपाने लेखको समेत अवलोकन गर्न सकिन्छ। विशेषत मनसुनको सिजनमा ठुलीलेख वनमाराको फुलले सजिएर प्रफुल्ल हुन्छ। त्यही समयमा चल्ने चिसो बतास र कुहिरोले झन् मन लोभ्याउँछ।

ऐरावती गाउँपालिका वार्ड नं १ मै अवस्थित पुरुमथुम कोट समेत अवलोकन गर्न सकिन्छ। यो कोटको आफ्नै इतिहास र मान्यता रहेको छ।

पुरुमथुम थलो केवल एक सामान्य पहाडी क्षेत्र होइन, यो हो – इतिहास, आस्था र परम्पराको संगमस्थल। पुराना राज्यहरूको उत्थान–पतन देखेको, साँस्कृतिक उत्सवहरूमा थर्किएको, अनि सयौं वर्षदेखि देवीको शक्तिस्थल बनेको – पुरुमथुमको कोट।

“कोट” शब्द आफैंमा इतिहास बोकेको शब्द हो। नेपालका विभिन्न भागमा रहेका कोटहरू प्रायः प्राचीन राजनैतिक वा सैनिक केन्द्रहरू थिए। पुरुमथुमको कोट पनि त्यस्तै एक दरबार वा चौकी भएको अनुमान गरिन्छ, जसको सम्बन्ध बाइसे-चौबिसे राज्यकाल सँग गाँसिएको छ।

स्थानीय जनश्रुतिहरू अनुसार, पुरुमथुम कुनै समय एउटा गुरुङ राजा ‘जारे राजा’ को अधीनमा थियो र उनी पनि भुरे राजाको उपशाशक भयेर राज्य संचालन गर्दथे। उनको शासनकालमा यहाँ सैनिक ब्यारेक, देवीस्थान, र प्रशासनिक केन्द्र सञ्चालन हुन सक्ने अनुमान गरिन्छ। त्यो समयको मूढावस्था अहिले केही भग्नावशेषको रूपमा बाँकी रहेको देखिन्छ।

पुरुमथुम कोटको केन्द्रमा अवस्थित छ – दुर्गा देवीको मन्दिर।

यहाँ वर्षेनी दशैंको समयमा हुने सराय नाच हुन्थ्यो। यो अली खर्चिलो भएकोले अहिले केवल पुजाआजा मात्र हुन्छ । यस कोटले वीरता स्मरण त्यस ठाँउको ऐतिहासिक महत्त्व र समुदायको एकतालाई बाधेर राखेको छ।मन्दिरमा बलि दिनु, रात्भरि भजन–कीर्तन हुनु, अनि गाउँभरिका मानिसहरूको सहभागीता – यी सबैले पुरुमथुमको सामाजिक–धार्मिक महत्त्वलाई अझै बलियो बनाउँछ। हाल पनि महाअष्टमिमा पुजाआजा हुने गर्छ। भाकल गरिन्छ, बलि दिइन्छ जारे राजा भुरे राजाको पुजा गरिन्छ।

पुरुमथुम ऐरावती गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्दछ। यो ठाउँ डाँडामाथि अवस्थित छ, जहाँबाट सिङ्गो भूभाग नियाल्न सकिन्छ – जसले गर्दा यी क्षेत्रहरू सैनिक दृष्टिले पनि महत्वपूर्ण थियो भन्ने कुरा दर्शाउछ।कोटको संरचना अहिले जिर्ण अवस्था मा छ। पुरुमथुम आज शान्त छ, तर त्यो मौनता भित्र थुप्रै प्रश्नहरू गुञ्जिरहेका छन्।कुनै समयको कोट अब एक सानो टिनको छानाले ढाकिएको मन्दिरमा सीमित भएको छ। वरिपरि घाँस र फूलहरूले ढाकेको छ – लाग्छ, प्रकृतिले आफैँ यस स्थानको रक्षा गरिरहेछ।तर, संरक्षणमा मानवीय चासो चाहिन्छ।मन्दिर अझै पूजनीय छ, तर संरक्षणको अभावमा जीर्ण हुँदैछ।सराय नाच, जुन कहिले यस थुमको आत्मा थियो, अब केवल केही बृद्ध मुखहरूको सम्झनामा बाँकी छ।