प्युठान, ७ बैशाख ।व्यक्तिगत घटना दर्ता सप्ताहमा विद्यार्थीलाई व्यक्तिगत घटना दर्ताको महत्वबारे जानकारी गरार्ईएको छ । यहाँका ७ वटा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत घटना दर्ताको महत्वबारे जानकारी गराईएको हो । ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाई बरौला प्युठानको आयोजना तथा नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु , विवाह, बसाइँसराई र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गराउनका लागि विद्यार्थीलाई जानकारी गराईएको थियो । विद्यार्थी मार्फत अभिभावक र अन्य नागरिकसम्म यो जानकारी पुगोस भन्ने उदेश्यले यो कार्यक्रम गरिएको ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाई बरौलाका शाखा प्रमुख एम.आई.एस. अपरेटर सागर रिजालले जानकारी दिनुभयो । व्यक्तिगत घट्नाहरु, घट्ना घटेको ३५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराएमा निशुल्क हुने समेत उहाँले बताउनुभयो ।सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाईले व्यक्तिगत घट्ना दर्ता सप्ताहको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धि अभिमुखीकरण कार्यक्रम संगै पालिकाका ६ वटै वडामा सन्देशमुलक ब्यानर टास्ने, पालिका भित्र रहेका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घट्ना दर्ता सप्ताहको महत्वको बारेमा जानकारी गराउने , पालिकाबासीलाई आफ्ना व्यक्तिगत घटना दर्ता गर्न अनुरोध सहितको रेडियो अन्र्तवार्ता समेत गरिएको छ ।
व्यक्तिको कानुनी पहिचान स्थापित गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्राप्त हुने सेवा प्राप्तीको लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकोले सो सम्बन्धी जनचेतना अभिबृद्धि गर्न नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागकोे आयोजनामा प्रत्येक वर्ष बैशाख महिनाको पहिलो हप्ता व्यक्तिगत घटना दर्ता सप्ताह मनाईदै आएको छ ।