काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।महरालाई आज बिहान रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाउन लागेको पुष्टि गर्दै भने, ‘अहिले काठमाडौं पठाउने तयारीमा छौं।’
२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए। ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो। सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो। तर सीआईबी उनीविरुद्ध मुद्दा नचलाई कागज गराएको छाडेको थियो। सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन्। पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो।







