ट्याक्टर र ईभी चलाएर बचत गरेको पैसाले अटो व्यवसाय, सुरजको मासिक आम्दानी ४० हजार

प्युठान । ऐरावती गाउँपालिका–२ बरौंलाका २३ वर्षीय सुरज आर.सी.ले वैदेशिक रोजगारीको विकल्पका रूपमा आफ्नै गाउँमा अटो व्यवसाय सञ्चालन गर्दै आएका छन्।

६ महिनाअघि ७ लाख ५० हजार रुपैयाँमा अटो खरिद गरी व्यवसाय सुरु गरेका आर.सी.ले अहिले अटो चलाएर मासिक ४० हजार रुपैयाँ सम्म आम्दानी गर्दै आएको बताएका छन्।

कक्षा ९ पछि उनले करिब एक वर्ष ट्याक्टर सह-चालकका रूपमा काम गरे। त्यसपछि करिब तीन वर्ष ईभी गाडी चलाए । ट्याक्टर र ईभी चलाएर कमाएको रकम बचत गर्दै उनले आफ्नै अटो खरिद गरेका हुन्।

सवारी चलाउने क्षेत्रमा लामो समय काम गरेको अनुभवलाई व्यवसायमा परिणत गरेका सुरजसँग हेभी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत रहेको छ।

बिहान घरमै खाना खाएर अटो लिएर काममा निस्कने र साँझ घर फर्कने उनको दैनिकी बनेको छ। आफ्नै ठाउँमा बसेर सीप र श्रमको प्रयोग गर्दै नियमित आम्दानी गर्न सकिने उदाहरणका रूपमा उनको व्यवसायलाई लिन सकिन्छ।

सुरज भन्छन्, “अरूको सवारी चलाएर कमाएको पैसाबाट बचत गर्दै आफ्नै अटो किनेँ। अहिले आफ्नै व्यवसाय गरेर आम्दानी गर्न पाउँदा खुसी छु।”

युवा उमेरमै सीप सिकेर त्यसलाई आम्दानीको माध्यम बनाएका सुरजको यो प्रयासले स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन ।