प्यूठान । बजारमा एलपी ग्यासको अभाव भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले ग्यास बिक्री केन्द्र तथा सब–डिलरहरूको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको नेतृत्वमा गएको टोलीले बाग्दुला, बिजुवार, जुम्री र क्वाडी क्षेत्रका ग्यास बिक्री केन्द्र तथा सब–डिलरहरूको अनुगमन गरेको हो ।गाउँबाट अध्ययनका लागि बजार क्षेत्रमा आएका तथा कोठा भाडामा बस्ने विद्यार्थीहरूले ग्यास पाउन कठिनाइ भएको गुनासो गरेपछि अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताए । अनुगमनका क्रममा ग्यास बिक्री केन्द्र तथा सब–डिलरहरूलाई उपलब्ध सिलिन्डरको १० प्रतिशत विद्यार्थीका लागि छुट्याएर राख्न निर्देशन दिइएको छ । विद्यार्थी परिचयपत्रका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको प्रसाईंले बताए ।

ग्यास वितरण प्रणालीलाई व्यवस्थित गर्दै वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था सुनिश्चित गर्न अनुगमन गरिएको प्रशासनले जनाएको छ ।अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरी अधिकारी,सशस्त्र प्रहरी बल प्यूठानका प्रमुख विजय चौधरीलगायत सहभागी थिए ।