ऐरावतीमा असोज २८ देखि ‘बरौंला प्रिमियर लिग सिजन-२’ विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ ।

प्युठान । ऐरावती गाउँपालिका–२ बरौंलामा रहेको सेभेन स्टार विकास केन्द्रको आयोजनामा जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता ‘बरौंला प्रिमिएर लिग–सिजन–२’ आगामी असोज २८ गते देखि कार्तिक १ गतेसम्म ऐरावती खेलमैदान ऐरावती-५ झिवाङ्गमा वडा दशैंको पुर्व सन्ध्यामा सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई ४ हजार ४ सय ४४ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता चिठ्ठा प्रणालीबाट सञ्चालन हुनेछ भने सबै खेल १५ ओभरका हुनेछन्। प्रत्येक टोलीमा जिल्ला बाहिरका बढीमा ४ जना खेलाडी सहित १५ जना खेलाडी मात्र सहभागी गराउन पाइने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुने टोलीले असोज २७ गते साँझसम्म ७ हजार ७ सय ७७ रुपैयाँ दर्ता शुल्क सहित टिम दर्ता गर्नुपर्ने छ । खेलमा LBW बाहेक सबै ICC का नियमहरू लागू गरिने छ ।

सेभेन स्टार विकास केन्द्रले यसअघि पनि २०८१ सालमा बरौंला प्रिमिएर लिगको पहिलो संस्करण आयोजना गरेको थियो। पहिलो संस्करणमा २६ टोलीको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा झिवाङ ‘ए’ समूह विजेता र आयोजक ‘ए’ समूह उपविजेता बनेका थिए।

आयोजकले प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाहरू,खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीलाई आवश्यक सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।