मोती माविमा युवा कवि मोतीराम भट्टको सालिक अनावरण
प्युठान । ऐरावती गाउँपालिका–२ बरौंलामा रहेको मोती माध्यमिक विद्यालयमा युवा कवि मोतीराम भट्टको सालिक अनावरण गरिएको छ।
युवा कवि मोतीराम भट्टको १६१औँ जन्मजयन्तीको अवसरमा विद्यालयले साहित्य परिषद् प्युठानको समन्वयमा आयोजना गरेको विशेष कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले मोतीराम भट्टको सालिक अनावरण गर्नुभएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ, शिक्षक–अभिभावक संघका अध्यक्ष सुरेशचन्द्र थापा, साहित्य परिषद् प्युठानका अध्यक्ष विमला खनाल, राप्ती साहित्य परिषद् ऐरावतीका अध्यक्ष रामप्रसाद पोखरेल, साहित्य परिषद् प्युठानका पूर्वअध्यक्ष गेहराज थापा, कृतिकार देवेन्द्र रिजाललगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
मोतीराम भट्ट नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यका जीवनीकार तथा नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउने युवा कविका रूपमा परिचित छन्।
यसै अवसरमा कृतिकार देवेन्द्र रिजालद्वारा लिखित ‘भावनाका लहरहरू’ कविता सङ्ग्रहसमेत विमोचन गरिएको थियो। कार्यक्रममा साहित्य, सिर्जना वाचन तथा मोतीराम भट्टको साहित्यिक योगदानका विषयमा चर्चा गरिएको थियो।
विद्यालयमा मोतीराम भट्टको सालिक स्थापना तथा जन्मजयन्ती कार्यक्रमले विद्यार्थीहरूमा नेपाली साहित्य र साहित्यिक व्यक्तित्वप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका छन्।








