ऐरावतीमा ठुटेपाटा हरित पार्क सरसफाइ तथा वृक्षरोपण गरी मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
प्युठान । ऐरावती गाउँपालिका वडा नं ६ बैरेनी दमार स्थित ठुटेपाटा हरित पार्क परिसर सरसफाइ तथा वृक्षरोपण गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। 
फ्युचर स्टार युवा क्लबको आयोजना तथा लुम्बिनी प्रदेशस्तरीय किशोर–किशोरी तथा युवा सञ्जालको समन्वयमा आयोजित कार्यक्रममा ऐरावती गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बुद्ध बस्नेतको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य सीता गैरेको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा शान्ति प्राथमिक विद्यालय बैरेनीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर थापा, स्थानीय युवाहरू, समाजसेवी, बुद्धिजीवीलगायतको सहभागिता थियो। सहभागीहरूले ठुटेपाटा हरित पार्क परिसरमा सरसफाइ गर्नुका साथै विभिन्न ११ प्रजातिका प्राकृतिक सौन्दर्य बढाउने क्रिसमस ट्री,गुलमोहर, रवर प्लान्ट,एटीका,ट्रिकमा,ड्राफ्ट टी,चाँदनी लगायतका बिरूवाहरू रोपिएको हो । 
कार्यक्रममा बोल्दै निवर्तमान उपाध्यक्ष बस्नेतले युवाहरू समाज परिवर्तनका संवाहक भएको बताउनुभयो। राज्यले युवाका माग, आवश्यकता र अपेक्षालाई समयमै सम्बोधन गर्न नसक्दा युवामा असन्तुष्टि बढ्ने गरेको उल्लेख गर्दै उहाँले भदौ २३/२४ गतेको जेन्जी विद्रोहलाई समेत त्यसैको परिणामका रूपमा स्मरण गर्नुभयो।
ठुटेपाटा हरित पार्कले प्रचुर पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै बस्नेतले पार्क निर्माणको काम थालनी गर्ने स्थानीयवासीलाई धन्यवाद दिनुभयो। पार्कमा आवश्यक भौतिक संरचना विस्तारका लागि बजेट व्यवस्थापन गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।
कार्यपालिका सदस्य सीता गैरेले पछिल्लो समय देशमै रोजगारीको सुनिश्चितता नहुँदा ठूलो संख्यामा युवाहरू विदेश पलायन हुनुपरेको बताउनुभयो। देशमै केही गरौँ भन्ने उद्देश्यका साथ मेहनत गर्ने युवालाई समेत विभिन्न क्षेत्रमा पछाडि पारिने अवस्था रहेको भन्दै उहाँले युवाको क्षमता र ऊर्जालाई राज्यले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
शान्ति प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर थापाले फ्युचर स्टार युवा क्लबले विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रममार्फत युवाहरूलाई संगठित गर्दै सकारात्मक काममा अघि बढाइरहेको बताउनुभयो।
कार्यक्रम क्लबका सचिव अनुपराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा वृक्षरोपणसँगै युवाको भूमिका, वातावरण संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका विषयमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।








