पुरन्ठाँटी स्वास्थ्य चौकी बरौंलामा टिक्न सकेनन् डाक्टर

प्युठान, ऐरावती गाउँपालिका–२ बरौला स्थित पुरन्ठाँटी स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत डा. विवेक अधिकारीले राजीनामा दिएपछि स्वास्थ्य चौकी पुनः मेडिकल अधिकृतविहीन बनेको छ।

स्वास्थ्य चौकीका अनुसार डा. अधिकारी २०८२ असोज २० गते नियुक्त भएका थिए। उनले करिब सात महिनापछि २०८३ वैशाख २८ गते राजीनामा बुझाएर गएको स्वास्थ्य चौकीले जनाएको छ। डा. अधिकारीको बहिर्गमनसँगै वैशाख २८ गतेदेखि स्वास्थ्य चौकीमा मेडिकल अधिकृतको पद रिक्त रहेको छ।

पुरन्ठाँटी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत लामो समय टिक्न नसक्ने समस्या विगत केही वर्षदेखि दोहोरिँदै आएको छ। २०७७ कात्तिक २१ गते नियुक्त भएका डा. गोपाल खनालले १४ महिनापछि राजीनामा दिएका थिए। त्यसलगत्तै नियुक्त भएका डा. अमित पाण्डेले पनि करिब १४ महिनामै राजीनामा थिए । त्यसपछि स्वास्थ्य चौकी एक वर्षसम्म मेडिकल अधिकृतविहीन रह्यो ।

एक वर्षपछि नियुक्त भएका डा. विनोद पन्तले १६ महिनासम्म सेवा दिएपछि राजीनामा दिएका थिए। पछिल्लोपटक नियुक्त भएका डा. विवेक अधिकारीले पनि सात महिनामै पद त्यागेपछि स्वास्थ्य चौकीमा चिकित्सक अभावको समस्या पुनः दोहोरिएको छ।

मेडिकल अधिकृत नहुँदा स्वास्थ्य चौकीबाट प्रदान हुँदै आएका विभिन्न स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्। स्वास्थ्य चौकी प्रमुख मिना पुरीका अनुसार इमर्जेन्सी सेवा, भिडियो एक्स–रे, ईसीजी सेवा, दीर्घरोगीहरूको नियमित स्वास्थ्य परीक्षण तथा वडागत घुम्ती स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको छ ।

“मेडिकल अधिकृतको अभावका कारण केही सेवाहरू नियमित रूपमा सञ्चालन गर्न कठिन भएको छ। यसले स्थानीय सेवाग्राहीलाई समस्या परेको छ,” स्वास्थ्य चौकी प्रमुख पुरीले बताउनुभयो।