प्युठान। ऐरावती गाउँपालिकाले निर्माण गरेको हाटबजार टहरो प्रयोग ८ वर्षदेखि प्रयोग विहिन छ । उक्त टहरो कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई एकीकृत गरी सहज रुपमा बिक्री वितरण गर्ने उद्देश्यले निमार्ण गरेपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
गाउँपालिकाको मुख्य व्यापारी केन्द्र रहेको बरौला बजारमा निर्माण गरिएको टहरो यतिबेला वरिपरि घाँसले ढाकेको फोहोरको थुप्रो र पशु संकलन केन्द्रको ढोका समेत तोडिएको अवस्थामा छ । पालिकाले आर्थिक वर्ष २०७४/७५ मा ‘हाटबजार टहरो तथा पशु संकलन केन्द्र’ निर्माण शिर्षकमा विनियोजन गरिएको ८ लाख ४१ हजार रूपैयाँमा उक्त संरचना निर्माण भएको थियो ।
स्थानीय उत्पादन,कृषि उपजहरु संकलन गर्नेगरी निर्माण गरिएको टहरो यतिबेला जिर्ण बन्दै गएको छ ।तत्कालीन समयका लुम्बिनी प्रदेशका सरकारका कृषि तथा सहकारी मन्त्रि हरि रिजालले उक्त हाट बजार टहरो उद्घाटन गरेका थिए। उद्घाटन पश्चात् हालसम्म हाटबजार सञ्चालन भएको छैन ।








