दाङवाङ माविको निर्माणाधीन भवन अनुगमनप्युठान,२१ फागुन ।
ऐरावती गाउँपालिका वडा नं १ दाङवाङ माध्यामिक विद्यालयमा निर्माणाधिन विद्यालय तथा छात्राबास भवनको अनुगमन गरिएको छ । नेपाल भारत विकास सहयोग अन्तर्गत निर्माण हुन लागेको भवनको अनुगमन गरिएको हो ।


गत जेष्ठ ३२ गते शिलन्यास गरि भवन निर्माणको काम संचालन भएको थियो । हालसम्म विद्यालय भवनको काम ९० प्रतिशत सम्पन्न भएको र छात्रावास भवनको ३० प्रतिशत काम सम्पन्न भएको छ । भारतीय राजदुतावासको दुई करोड ७१ लाख ३८ हजार १ रुपियाँ र पालिकाको ६७ लाख ८४ हजार ५ सय गरी तीन करोड ३९ लाख २२ हजार पाच सय १ रुपियाँको लागतमा भवन निर्माण हुन लागेको हो ।

अनुगमन गर्दै भारतीय राजदुतावास काठमाडौंका प्रथम सचिव बशिष्ट नन्दनले भवन निर्माणको काम राम्रो भई रहेको बताउनुभयो । भवन निर्माण समयमा सम्पन्न गर्न समेत उहाँले निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

भवन निर्माण पश्चात यहाँ अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा सहजता हुने विद्यालयका प्रधानाध्यापक तुल्सीराम आचार्यले बताउनुभयो । साथै छात्राबास भवन निर्माण भएसंगै टाढाबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सहज हुने उहाँले बताउनुभयो ।
साथै विद्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउनको लागि प्रस्तावना बनाई आवश्यक पहलका लागि प्रथम सचिव वशिष्ट नन्दन सित छलफल भएको वडा अध्यक्ष अमर बहादुर रेस्मीमगरले बताउनुभयो ।








