अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ऐरावतीमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
प्युठान, साउन २७ ऐरावती गाउँपालिका स्थानीय युवा परिषदको आयोजनामा जिल्ला प्रहरी कार्यालय प्युठान र कालिका बिकास केन्द्र प्युठानको समन्वयमा २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) दिपेश बस्याल,पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल वि.क वडा अध्यक्षहरू,शाखा प्रमुखहरू कालिका विकास केन्द्रका कर्मचारीहरू तथा पालिकाका विभिन्न स्थानका युवा-युवतीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्र.ना.उ. बस्यालले लागुऔषधको परिचय, प्रकार, यसले व्यक्ति, समाज र राष्ट्रमा पार्ने असर, प्युठान जिल्लामा यसको प्रभाव, बच्ने उपाय, दुर्व्यसनी रोकथाममा युवाको भूमिका तथा लागुऔषध सम्बन्धी कानुनी प्रावधानबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो । साथै कार्यक्रममा सहभागी युवा–युवतीहरूले राखेका प्रश्नहरूको जवाफसमेत दिनुभएको थियो ।
कार्यक्रमले सहभागीहरूमा लागुऔषधको दुष्प्रभाव र रोकथामका उपायबारे थप चेतना फैलाएको पालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो ।