विद्यार्थी संख्या नपुगेका विद्यालयलाई अनुदान पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा बिद्यालयमा बिद्यार्थी संख्या नै नपुगेका २ वटा बिद्यालयलाई बिद्यालय प्रोत्साहन अनुदान कार्यक्रम उपलब्ध गराएको छ।

कार्यान्वयन कार्यविधि २०८१।८२ को कृयाकलाप नं. २.७.१३.१३ को उपकृयाकलाप नं. ९.२ मा स्थानीय तहले शैक्षिक, व्यवस्थापकीय सुधार, सुशासनमा उत्कृष्ट कार्य गरेका विद्यालय छनौट गर्दा कम्तीमा आधारभूततर्फ १ सय जना विद्यार्थी र माध्यमिकतर्फ २ सय जना विद्यार्थी भएका विद्यालयमध्ये सामाजिक परीक्षण मापदण्ड २०७८ ले तोकेको विधि, प्रकृया र पद्दती बमोजिम प्राप्त गरेको समष्टिगत अंकलाई आधार मानी उच्चतम अंक प्राप्त गर्ने प्रथम र द्वितीय हुने विद्यालयलाई क्रमशः रु.३ लाख र रु.२ लाख निकाशा गर्ने व्यवस्था रहेको छ।

तर पालिकाले ७५ जना विद्यार्थी भएको पाटेश्वरी प्रा वि पकला लाई रु.३ लाख रुपैयाँ र ५५ जना विद्यार्थी भएको सूर्यमुखी प्रा वि लाई रु.२ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। कार्यान्वयन कार्यविधिले माध्यमिक विद्यालय र आधारभूत विद्यालयलाई मात्र दिन मिल्नेमा पालिकाले कार्यविधिले तोकेको भन्दा कम विद्यार्थी संख्या रहेको प्राथमिक विद्यालयलाई यस्तो अनुदान प्रदान गरेको छ।

कार्यक्रम कार्यान्वयन कार्यविधिभन्दा फरक हुनेगरी प्रदान गरेको अनुदान नियमसम्मत नदेखिएको महालेखा परीक्षकको ६३ औं प्रतिवेदनमा समेत अनियमित भएको औल्याएको छ।