काठमाडौं । नेपालमा युवा र बालबालिकाको वातावरणीय अधिकार र जलवायु न्यायको अभियानलाई संस्थागत गरिरहेको नेपाल युथ नेटवर्क ( दिगो बिकासका लागी राष्ट्रिय युवा संजाल,नेपाल) ले काठमाडौं उपत्यकाका सरकारी तथा सामुदायिक विद्यालयहरुमा १० देखी १७ बर्ष उमेर समुहका बालबालिकालाई केन्द्रित गरेर जलवायु,जलवायु परिवर्तन, वातावरणीय अधिकार र यसमा बालबालिका र युवाको भुमिका र असरका बारेमा जानकारीमूलक सचेतताका कक्षाहरु संचालन गरिरहेको छ ।

विगत एक दशक देखि युवा, दिगो बिकास , वातावरण , जलवायु , बालबालिकाको क्षेत्रमा क्रियाशील नेट्वोर्कले अहिले जलवायु परिवर्तनले मुख्यत असर गर्ने कम उमेर समूह खासगरी बालबालिका तथा युवामा सचेतना ल्याउन यो अभियान शुरु गरेको नेटवर्कका केन्द्रिय प्रवक्ता बिष्णु पाण्डेले जानकारी दिए ।

आज, पृथ्वी क्रमिक रुपमा तातिँदै गईरहेको छ भने जलवायुजन्य घटनामा समेत अप्रत्यासित रुपमा बृद्धि भएका छन् । यसै सन्दर्भमा बालबालिका र युवाहरूको वातावरणीय अधिकारको संरक्षण गर्न आवश्यकताको महसुस गर्दै युवा र बालबालिकाको वातावरणीय अधिकारको सवाललाई थप जनस्तरमा पुर्याउने र आउदो पुस्तालाई सुशिक्षित गराउँदै जाने यो अभियानको उदेश्य रहेको छ ।