कपिलवस्तुको शिवराज नगरपालिका–६ बिल्मी गाउँका १९ वर्षीय महोम्थ शरिफ ठाकुर दुई वर्षदेखि बरौंला बसपार्क छेउमा शैलुन सञ्चालन गर्दै आएका छन्। बाल्यकालदेखि नै कपाल काट्न रुचि राख्ने शरिफले १३ वर्षको उमेरमै कपाल काट्न सिकेका थिए।

उनका बुबा फिरोज अहमद ठाकुरले २०७४ सालमा बरौंलामा शैलुन खोलेका थिए। ६ वर्षसम्म आफैँ शैलुन सञ्चालन गरे २०८० सालमा रोजगारीका लागि साउदी अरब गएका कारण छोरालाई जिम्मा दिएका छन्। बुबाको पसललाई निरन्तरता दिँदै आएका शरिफ अहिले सफल युवा शैलुन व्यवसायीका रुपमा चिनिन्छन्।

शरिफका अनुसार चार्डपर्वको समयमा एक दिनमा ७० जनासम्मको कपाल काट्ने गरेका छन्। सामान्य दिनमा पनि उनी न्यूनतम ८ सयदेखि अधिकतम ३ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।

सानै उमेरदेखि सुरु गरेको सीप अहिले उनको रोजगारीको प्रमुख माध्यम बनेको छ। मेहनत, लगनशीलता र निरन्तरता शरिफको सफलता पछाडिको मुख्य कारण हो ।