प्युठान नगरपालिका–४ टारीमा सडक विस्तार र कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ, तर सडकको बीचमै उभिएको बिजुलीको पोल हट्न नसक्दा काम नै अलपत्र हुने जोखिम देखिएको छ ।

संघीय सरकारको एक करोड रुपियाँको बजेटमा टारी एनसियल टावरदेखि ढुंगेठाटीसम्मको सडक साढे सात मिटर फराकिलो बनाइएको हो। एक वर्षअघि टेण्डर भई निर्माण सुरु भएको यो सडक हाल नाला निर्माण र बेस हाल्ने काम सकेर कालोपत्रे गर्ने तयारीमा पुगेको छ।

तर, बीच सडकमै पोल ठडिदा सवारी आवागमनमा समस्या भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ।

स्थानीय अनुप सुवेदीले समस्या समाधानका लागि सडक,विद्युत् प्राधिकरणदेखि मेयरसम्मलाई आग्रह गर्दा पनि कसैले नसुनेको गुनासो गर्नुभयो। उहाले भन्नुभयो,”दुर्घटना भयो भने कसले जवाफ दिने?”

वडाध्यक्ष रेशम बहादुर कार्कीका अनुसार वडा नं. ४ मा मात्रै ३०–३५ वटा पोल हटाउनुपर्ने अवस्था छ। “विद्युत् प्राधिकरणले पैसा माग्छ, ठेकेदार भन्छ स्टिमेटमा छैन। यस्तो दोधारका कारण काम अगाडि बढ्न सकेको छैन,” उहांले भन्नुभयो,”सवैलाई भन्दा भन्दै थाकिसकियो।”

नगरपालिकाले पनि विद्युत् प्राधिकरणलाई पटक–पटक पोल सार्न आग्रह गरेको तर काम नभएर समस्या आएको स्पष्ट पारेको छ।

नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासले भन्नुभयो, “पोल हटाउन हामीलाई प्रदेश डिभिजन बुटवलको स्वीकृति चाहिन्छ। रिचार्जेबल शीर्षकमा रकम पनि कसैले जम्मा गरेन, हामी आफैंले हटाउन सक्दैनौं।”

सडक डिभिजन प्युठानका प्रमुख सीनियर डीभिज्नल ईन्जिनियर विष्णुदास लामाले भन्नुभयो, “विद्युत् प्राधिकरणले तार हटाइदिए सडक कालोपत्रे तुरुन्त सुरु हुन्छ। हामी तयार छौं।”

तर, दुबै निकायले जिम्मेवारी लिन आलटाल गरेपछि आयोजना नै अलपत्र पर्न थालेको छ। स्थानीयले समयमै पोल नहटाइए दुर्घटना र ढिलाइका लागि प्रत्यक्ष दोषी निकायलाई मान्ने चेतावनी दिएका छन ।